News
अब त्यस्तो गल्ती दोहोर्याउँदिन -राजेश पायल राई
अनुशील श्रेष्ठ एभरेष्ट साप्ताहिक-नेपाल प्रतिनिधि
शिरै फूल शिरबन्दी…, नौ जाले मायालु…, को रुदैन होला…, बैगुनी रैछौ मायालु…, निष्ठुरीलाई माया गरी…, फैलियो माया दुबोसरी…, गाउँवेशीमा फूलै फुल्यो…, घुम्न जाऊ धरान…, नमाग मसंग… लगायत करिब २०० नेपाली चलचित्र, आधुनिक, लोक, पप, स्वदेश गान सबै गरेर एक हजार भन्दा बढी गीत रेर्कर्ड । सबै प्रकारका गीतहरु गाउन सक्ने भर्सटायल गायक, ९ चलचित्र र डेढ दर्जन आधुनिक गीतका सङ्गीतकार तथा गुण्डाराज नामक चलचित्रका नायक पनि । राजेश पायल राईको ख्याति अहिले चुलिएको छ, नेपाली सङ्गीत क्षेत्रका व्यस्त गायकमा अहिले उनको नाम अगाडि आउँछ । नेपाली चलचित्र गीत गायनमा उनले सबै गायकलाई पछि पारिसकेका छन् ।
पछिल्लो समयमा भने राजेश पायल अस्वस्थ भएको खबर चर्चामा छ । उनी प्यारालाइसिस भएर हात खुट्टा नचल्ने भएको समाचारले बजार तताइरहदा एभरेष्टले उनीसंग भेट गरेको थियो । भेटघाटका क्रममा उनी अनुमान गरेजस्तो असामान्य अवस्थामा थिएनन् । बायाँ हात र खुट्टा चलाउन केही समस्या जस्तो देखिए पनि उनी मज्जैले हिडिरहेका थिए । अर्ढाई महिनाअघि थला पर्दा निक्कै सिकिस्त भएका उनी फिजियो थेरापी गरेर निक्कै स्वस्थ्य भइसकेका रहेछन् । दुई हप्ता पछिदेखि नै स्टुडियोहरुसम्म पुगेर गीत गाउँन थालिसकेका राजेशले हिफाजत, बादशाह, धोका, मर्द जस्ता आधा दर्जन चलचित्रका गीत यही अवधिमै रर्ेकर्ड गरेका छन् । उनले भने “रगत बाक्लो भएर यस्तो समस्या आएपछि अहिले हरेक दिन बिहान २ घण्टा र बेलुकी २ घण्टा फिजियो थेरापी गराइरहेको छु । अरु एक महिना जति स्टेज कार्यक्रममा प्रस्तुत नभए पनि स्टुडियोमा गीत रर्ेकर्डको काम गरि नै रहेको छु ।”
उनको अस्वस्थताको कारणमा धेरै धुम्रपान, मद्यपान, अनिदो र खानपानको बेठेगान भएको उनी बताउँछन् । उनी भन्छन् “साथीहरुसंग बसेर खान थालेपछि रात बित्थ्यो, अनलिमिट मद्यपान र अनिदो रहेकाले मेरो स्वास्थ्यमा असर परेको रहेछ । तर, अब कहिल्यै मद्यपान, धुम्रपान गर्दिन । तीन महिनादेखि हात पनि लगाएको छैन । अब फेरि खाएर गल्ती दोहोर्याउँदिन् ।” उनका कुरा सुन्दा उनी आफ्ना गल्ती कमजोरीबाट चेतिसकेको आभास पाइन्छ ।
उनले साथीहरुसंग रातभर खाएर बिताएका दिन सम्झदै भने “म बिन्दास टाइपको मान्छे, दिनमा १५ हजार कमाउने र सबै खाएर सक्ने टाइपको थिएँ । अहिले सोच्दा यहाँको कमाई मद्यपान खाएर र साथीहरुलाई खुवाएरै सिद्धिएछ । करिब ६० लाख रुपैया त्यसरी जाँडपानी खाएर, खुवाएरै सकेछु ।” अहिले आफू अस्वस्थ भएपछि भने राजेशको खानपानमा पूरै सुधार आएको छ । उनले भर्खरै काठमाडौं, शान्तिनगरमा करिब ३६ लाख रुपैयामा तीनतले घर समेत किनिसकेका छन् । आफ्नै घरमा एभरेष्टसंग कुरा गर्दै उनले भने “विदेशका कर्न्र्सटहरुको कमाइ र केही ऋण लिएर यो घर किनेको हँु । एउटा शिर लुकाउने आफ्नै ठाउँ बल्ल भयो ।”
अस्वस्थताका कारण उनले मलेशिया, सिङ्गापुर, बेलायतका कार्यक्रमहरु छाड्नु परेको छ । असोज महिनामा भने उनी पुर्ण स्वस्थ भएर देश विदेशका कर्न्र्सटहरुमा सरिक हुने भएका छन् । फिजियो थेरापीसंगै घरैमा गीत रेकर्ड र आफ्नो दुई नयाँ अल्बमको तयारी समेत राजेशले गरिरहेका छन् । भन्छन् “एकदमै नौलो शैलीको गीतहरु सहितको ‘दर्शन नमस्ते’ अल्बमको तयारी गर्दैछु भने मेरै स्वर रहने सङ्गीतकार ओमप्रकाश राईको एकल अल्बमको तयारी पनि भइरहेको छ ।”
गाउँदेखि राजधानीसम्म
खोटाङको, बुइँपाबाट २०४६ सालमा १४ वर्षै उमेरमा राजधानी घुम्न आउँदा तन्नेरी राजेश पायल राईले गाउँघरमा सधै सुनिरहेको रेडियो नेपाल हर्ेर्ने एउटा धोको पूरा गरे । गाउँमा छदै भाका हालेर गीत गाउँने उनले त्यसैबेला रेडियोमा भ्वाइसटेष्ट दिए र पास पनि भए । ९ कक्षा पढदै गरेका ठिटो रेडियोमा गाउँने रहर पूरा गरेर दङ्ग परेर बुइँपा फर्किए । २०४७ सालमा बुइँपाबाटै एसएलसी दिएपछि उनी धरान झरे । ५ दाजुभाइ र १ दिदी सहितको परिवारमा हुर्किएका राजेशका बुबा रत्न राई खोटाङका राजनीतिकर्मी र समाजसेवी हुन् । बुबाको मनमा काइँला छोरा राजेशले राजनीति गरोस् भन्ने पनि थियो होला तर उनी सानैदेखि सङ्गीतमा रमाउन थालेका थिए ।
रेडियोमा स्वर परीक्षा पास गरेपछि रहर मात्रै पूरा गरेजस्तो उनलाई लाग्थ्यो तर धरानमा उनको प्रतिभाले फल्ने फुल्ने मौका पायो । यहीक्रममा उनले आफ्नो जीवनकै पहिलो गीत रर्ेकर्ड गराए ‘सम्झनाको कुरा नगर… ‘। धरानका महेन्द्र र हात्तिसार क्याम्पसका कार्यक्रमहरुमा उनी गीत गाउँथे । भन्छन् “२०४८ सालमा धरानको महेन्द्र क्याम्पसमा भएको कार्यक्रममा हजारौं दर्शकका सामु गीत गाउँदा गायन क्षेत्रमा केही गर्छु भन्ने आशा पलायो ।” हुन पनि पहिलो पटक मञ्चमा उत्रदा राजेशमा पलाएको आशा र उत्साहले काम गर्यो । उनी धरानका स्थानीय साङ्गीतिक कार्यक्रममा व्यस्त हुन थाले । २०५१ सालमा धरानमै उनको पहिलो एकल साङ्गीतिक कार्यक्रम पायल म्युजिकल नाइट सम्पन्न भयो ।
गाउँले ठिटो राजेश पायलको साङ्गीतिक यात्राले रफ्तार लिन थालिसकेको थियो । २०५२ सालमा उनको पहिलो एकल अल्बम मुर्छना बजारमा आएपछि उनको प्रतिभा चौतर्फी फैलन थाल्यो । त्यसपछि आएका उनका अल्बमहरु पुर्वमा रङ्ग चढेछ, जष्टफर यु, बैगुनी रैछौ मायालु, लभ लेटर, निगाह, जदौ र कामनाले उनलाई साङ्गीतिक शिखरमा पुर्याएको छ । त्रि्रै लागि, कानुन लगायतका ९ चलचित्रमा उनले आफै सङ्गीत दिएका छन् । २०६० सालमै उनले विराटनगरको रिभ स्टुडियोमा एकै दिन ८ वटा गीत रेकर्ड गरेर नयाँ रेकर्ड समेत कायम गरेका छन् । महिनामा बढी तीन दर्जन गीत रेकर्ड गर्ने राजेशले सरदर मासिक एक दर्जन गीत रेकर्ड गरिरहेका छन् । एउटा गीत रेकर्ड गराए वापत ५ देखि १० हजारसम्म लिने उनी गायनकै लागि युरोप र एशियाका नेपालीहरु भएका प्राय सबै देश पुगिसकेका छन् ।
विगत डेढ दशकदेखि निरन्तर गायन क्षेत्रमा सक्रिय राजेश आफू सबै प्रकारका गीत गाउन सक्ने भएकैले टिकिरहेको बताउँछन् । भन्छन् “जस्तो प्रकारको गीत पनि गाउँन सक्ने भर्सायल गायक भएकैले म आजसम्म निरन्तर यो क्षेत्रमा टिकिरहेको छु ।” राजेश आफूलाई मनमा लागेको कुरा बोल्छन् र गर्छन् पनि, कसैसंग चाकडी, चाप्लुसी गर्दैनन्, र जस्तो तस्तोलाई गन्दैनन् पनि । आफ्नै तालको भएका पनि कतिले उनलाई घमण्डी, सन्काहा पनि भन्छन् । यसबारे उनी के भन्छन् त - “खै मलाई आफू त त्यस्तो लाग्दैन । तर, म कसैको रिस गर्ने, पाखा लगाउँने जस्ता जालझेल जान्दिन, लागेको कुरा स्पष्ट बोल्छु । म आफ्नै प्रतिभाले टिकेको मान्छे भएकाले मलाई कसैको डर छैन् ।” कहिलेकाही आफ्नो प्रतिभाको मूल्याङ्कन हुन नसकिरहेको हो कि भन्ने उनलाई लाग्छ तर पनि राम्रो सिर्जना दिदै गए एक दिन सुन र फलाम छुट्टिने विश्वास उनको छ । उनले भने “माटोमुनी पुरेर सुन र फलाम राख्नुस् त्यो एक दिन देखिनेछ, माटोमा पुरे पनि सुन भनेको सुनै हो र फलाम भनेको फलामै हुन्छ । म केहो भनेर म भन्दिन समय आएपछि सबैले देख्नेछन्, आज पनि राजेश पायललाई नचिन्ने कमै छन्, जसले पत्याएका छैनन् उनीहरुले पनि एक दिन मेरो प्रतिभा चिन्नेछन् ।”
जीवन साथीको खोजी
यतिका वर्षगायन क्षेत्रमै छाइरहेका राजेश बाँचुञ्जेल गीत नै गाइरहन चाहन्छन् । अझै पनि सङ्गीतलाई अध्ययन नै गरिरहेको बताउँने उनका बुझाइमा सङ्गीत के रहेछ - भन्छन् “सङ्गीत खोला सम्झन्थे तर महासागर रहेछ । यसमा जति डुबेपनि तैरन नसकिने रहेछ । म अझै यसमा डुबिरहेछु, सिकी नै रहेको छु ।” राजेश गायक नभएका भए के हुन्थे होलान् - “म पाइलट पढथे हुँला, किनभने गाउँको आकाशमा हवाइजहाज देख्दा उड्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो ।” राजेशको पाइलट बनेर आकाशमा उडने सपना पूरा नभए पनि उनी गायनका क्रममा युरोप र एशियाका आकाशमा उडिसकेका छन् । त्यसो त उनी साङ्गीतिक आकाशमा अविरल रुपमा उडी नै रहेका छन् र उनकोयो उडान कहिल्यै रोकिने पनि छैन ।
राजधानीमा तीनतले घर किनेपछि राजेशको घरलाई बुहारीको खाँचो परेको छ । घरको करकापसंगै उनी आफै पनि चाडै नै घरजम गर्ने मुडमा छन् । राजेश पायल आफ्नो जीवनसाथी कस्तो होस भन्ने चाहन्छन् - “जात वर्ग जे भएपनि मलाई र गीत सङ्गीत र मेरो भावनालाई बुझने मान्छे हुनर्ुपर्छ, बिहे बाचुञ्जेलका लागि भएकाले सोच्नु पर्छ ।” राजेशलाई मन पराउनेहरु त देशविदेशमा पक्कै धेरै नै होलान् कसैसंग माया पनि त बसेकै होला । उनी भन्छन् “मेरो गर्लफ्रेण्ड छैन । तर यदि कसैले मलाई मन पराइराख्नु भएको छ भने म त विवाहका लागि तयार छु कुरा र मन मिल्यो भने विवाह पनि होला । हङकङमा त्यस्तो कोही हुनुहुन्छ भने एभरेष्ट पत्रिकाको मेरो अभिव्यक्तिलाई सूचना ठानेरै सर्म्पर्क गर्नु भए पनि हुन्छ ।”साभार-एभरेष्ट साप्ताहिक हंगकंग

Source:
http://www.khotang.org/?p=202
Updated On: 21-Jun-2009
 
Other News:
Pages:  1
 
 
 
 
On Media
 
New Photo
 
Promo
Darshan Namaste Out Now! This album contains 8 melodious songs. Rajesh...
©Copyright in 2008. Allright Reserved by Rajesh Payal Rai.